काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय समय बिहान ९ बजेदेखि ३ बजेसम्म तोकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको निर्णयानुसार नयाँ शैक्षिक सत्रदेखि विद्यालय सञ्चालन बिहान ९ बजेदेखि ३ बजेसम्म लागु गर्न लागिएको हो ।अहिले सबैजसो विद्यालय बिहान १० देखि दिउँसो ४ बजेसम्म सञ्चालन भैरहेका छन् ।

विद्यालय र अन्य कार्यालयहरु खुल्ने–बन्द हुने समय समान छ । अर्थात निजी हुन् वा सरकारी सबै कार्यालयहरु प्रायः १० बजे खुल्ने र चार वा पाँच बजे बन्द हुने गर्दछन् । कार्यालय समय समान हुँदा सडकमा सवारी साधनको चाप बढ्ने र ट्राफिक जामको समस्या पनि हुने निष्कर्षसहित विद्यालय समय हेरफेर गरिएको अधिकारीहरु बताउँछन् ।

‘खासगरी काठमाडौं उपत्यका र अन्य ठूला सहरमा ट्राफिक जामको समस्या बढेपछि विद्यालयहरु छिटो खोल्ने र छिटो बन्द गर्ने निष्कर्षमा पुगिएको हो,’ शिक्षा सचिव दाहालले भने 

यो निर्णय खासगरी निजी विद्यालय लक्षित छ । प्रायः सबैजसो बोर्डिङ स्कुलहरुले गाडीबाट विद्यार्थीहरु ओसार्छन् । सार्वजनिक, सरकारी, निजी र विद्यालयका गाडीहरुसमेत एउटै समयमा सडकमा निस्कदा घण्टौं जाम हुने समस्या छ ।