बारा - ८ सावन जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा पूर्ब संसद प्रमोद गुप्तासहित दुई जना जेल चलान भएका छन ।

जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी उनीहरुलाई वीरगन्ज कारागार चलान गरेको हो । कलैया उपमहानगरपालिका वडा नं ४ मा बस्ने जसपाका पूर्ब संसद प्रमोद गुप्ता र फेटा गाउँपालिका बडकी फुलवरीयामा बस्ने जसपाका स्थानीय नेता अरुण सिंह जेल चलान भएका छन् ।२०७४ माघको मधेस आन्दोलनको क्रममा प्रहरीको गोली लागी भरत चोकमा एक हिफाजत मियाँको निधन भएपछि उनको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले पैसा लिएर गडबडी गरेको भन्दै अस्पतालमा प्रदर्शन गर्ने क्रममा आन्दोलनकारीहरुले चिकित्सकको निजी कार जलाएका थिए । सोही आरोपमा प्रहरीले पूर्ब सभासद प्रमोद गुप्ता र अरुण सिंहको नेतृत्वमा गाडी जलाएको भन्दै उनीहरुमाथि मुद्दा चलाएको थियो ।सप्तरी राजविराज नगरपालिका ३ घर भई कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेड शैलेश झाको जाहेरीले उनीहरुमाथि मुद्दा चलाइएको थियो । त्यसपछि अदालतले एकतर्फी रुपमा दुबैलाई ६/६ महिना कैद र ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा पीडितलाई क्षतिपूर्ति भराउने गरी जरिवाना गर्दै २०७४ माघ २५ मा कैद सजायको फैसला गरेको थियो ।

मुलुकी ऐन, आगो लगाउने महलको १ र ४ बमोजिम फैसला गरिएको अदालतले जनाएको छ । त्यही कैद सजाय भुक्तान गर्न अदालतले दुबैलाई कारागार पठाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले अदालतको आदेशमा उनीहरुलाई कारागार पठाइएको जानकारी गराउनु भएकोछ ।