बारा ३- कार्तिक -जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं ९ कचोर्वा स्थित भारत नेपाल सिमामा पर्ने पिपराघाटबाट सोमवार प्रहरीले श्रोत नखुलेको १२ लाख भन्दा बढी नगद रुपैया बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कचोर्वाबाट खटिएको संयुक्त प्रहरीको टोलीले सवारी साधन तथा पैदल यात्री समेत चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आइरहेका नामथर वतन नखुलेका व्यक्तिले प्रहरी टोलीलाई देख्न बितिकै आफनो हातमा बोकि राखेको फाइबरको झोला छाडी भागेको थियो ।
उक्त वेवारिसे झोला प्रहरीले आफनो नियन्त्रणमा लिई हेर्दा झोलाभित्र नेपाली रू एक हजार दरको ८ सय ४२ थान, रू पाँच सयको ७ सय २ थान, १ सय दरको ३ सय ५९ थान, रु ५० को दरको १ सय १२ थान, रू २० को ४ थान, रू १० दरको १ थान र रू ५ दर भएको १ थान गरी जम्मा रू १२ लाख ३४ हजार ५ सय ९५ रुपैया फेला परेको थियो । फेला पारेको उक्त रकम आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


0 Comments