प्रदेश नम्बर २ मा मन्त्रिमण्डल विस्तार गरिएको छ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल विस्तार गरेका हुन् । विस्तारित मन्त्रिमण्डलमा चार मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिएको छ भने राजपाका २ जना मन्त्रीले पनि सपथ लिएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्रकुमार यादव, भूमीव्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शैलेन्द्र साह, सामाजिक विकासमन्त्रीमा नवलकिशोर साह र उद्योग तथा पर्यटनमन्त्रीमा रामनरेश रायले बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा सपथ ग्रहण गरेका छन् । राज्यमन्त्रीमा उषा यादव, सरोज सिंह र योगेन्द्र राय यादव छन् । उषा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री बनेका हुन् ।
मन्त्रीलाई प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले तथा राज्यमन्त्रीलाई मुख्यमन्त्री राउतले सपथग्रहण गराएका छन् । फोरमका मन्त्रीहरुले मातृभाषा मैथिलीमा सपथ लिए भने राजपाका दुवै मन्त्रीले हिन्दी भाषामा सपथ लिएका छन् । फोरमबाट यसअघि मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव भइसकेका छन् ।
सत्ता साझेदार दल राजपा नेपालबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । गृह तथा आन्तरिक मामिला मन्त्री बनेका ज्ञानेन्द्र यादवले प्रदेश २ मा शान्तिसुरक्षाका लागि विशेष कार्य गर्ने बताए ।
0 Comments