काठमाडौ - मंसिर १८ - टेलिफोन सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी), एनसेल र स्मार्टसेलबीच चलेको प्रतिस्पर्धाले भ्वाइस कल सेवा सस्तो बन्दै गएको छ।


कम्पनीबीच ग्राहक आकर्षण गर्ने प्रतिस्पर्धा चलिरहँदा त्यसको सकारात्मक प्रभाव आम नागरिकमा परेको छ। यसबाट ग्राहकले न्युन शुल्कमा भ्वाइस कल सेवा उपभोग गर्न पाएका छन्


टेलिफोन कम्पनीले ग्राहक आकर्षित गर्ने  विभिन्न भ्वाइस कल प्याक ल्याएका छन्। कसैले ‘नाइट भ्वाइस प्याक', कसैले ‘माई फाइभ', कसैले ‘स्पेसल टक प्याक' योजना ल्याएका छन्। यस किसिमका विभिन्न भ्वाइस कल योजना कम्पनीले ग्राहकलाई प्रस्तुत गर्दा सबैभन्दा फाइदा ग्राहकलाई पुगेको दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोतम खनाल बताउँछन्। उनका अनुसार कम्पनीबीच ग्राहकलाई आकर्षण गर्ने क्रममा ल्याइएका यस्ता अफरमा साधारण कलमाभन्दा कल रेट केही सस्तो हुँदै गएको छ। यसले प्रत्यक्ष प्रभाव ग्राहकलाई परेको हो।


‘कम्पनीले ग्राहक वर्ग, समूह र समयलाई छुट्याएर उनीहरूलाई लोभ्याउने खालका प्याक ल्याएका छन्' उनले भने, ‘त्यसैले त, प्याक पनि विद्यार्थी, नाइट, डे, फ्रेन्ड्स, माई फाइभलगायत छन्।' ‘आवश्यकता अनुसार यस्ता प्याकलाई खरिद गरी प्रयोग गर्दा साधारण कलको हिसाबमा ग्राहकले सस्तो दर रेटमा कल गर्न पाउँछन।


सामान्यतया एनटीसीको जीएसएम तथा सीडीएमए पोस्टपेड र प्रिपेड सिमबाट कल गर्दा क्रमशः एक रुपैयाँ र १.५० रुपैयाँ प्रतिमिनेट लाग्ने गरेको छ। यो टेलिकमले दूरसञ्चार प्राधिकरणलाई बुझाएको कल रेट हो। तर, प्याकको रूपमा ग्राहकलाई सेवा उपलब्ध गराउँदा कम्पनीको पोस्टपेड र प्रिपेड सिमबाट कल गर्दा ४५ पैसा प्रतिमिनेट लाग्ने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्।


उनका अनुसार टेलिकमले भ्वाइस प्याकअन्तर्गत जीएसएम तथा सीडीएमए प्रिपेड/पोस्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र पाँच सय ५० रुपैयाँमा ६० दिनका लागि १२०० मिनेट कल उपलब्ध गराइएको छ। कम्पनीले उपलब्ध गराएको यो योजनालाई हेर्ने हो भने ग्राहकले प्रतिमिनेट ४५ पैसाका दरले कल गर्न पाउनेछन्। टेलिकमकै नाइट भ्वाइस प्याकमा ग्राहकले प्रतिमिनेट १० पैसाका दरले कल गर्न सक्नेछन्। 


वैद्यका अनुसार टेलिकमले नाइट भ्वाइस प्याकअन्तर्गत ग्राहकलाई २५ रुपैयाँमा सात दिनका लागि राती १० बजेदेखि बिहान ६ बजेसम्म दुई सय ५० मिनेट कल सुविधा उपभोग गर्ने पाउनेछन्।


त्यस्तै प्रतिमिनेट एक रुपैयाँदेखि एक रुपैयाँ २० पैसासम्म कल रेट तोकेको एनसेलले पनि ग्राहकलाई विभिन्न प्याकमार्फत सस्तो दरमा कल उपलब्ध गराएको छ। कम्पनीले उपलब्ध गराएको प्याकमार्फत कल गर्दा ग्राहकले प्रतिमिनेट सात पैसासम्म कल गर्न सक्नेछन्। एनसेलले ल्याएको नाइट प्याकअन्तर्गत ग्राहकले ८.७८ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म एक सय २० मिनेट कल सुविधा २४ घण्टाका लागि उपभोग गर्न पाउनेछन्। दैनिक प्याकअन्तर्गत ग्राहकले प्रतिमिनेट एक रुपैयाँका दरले कल गर्न सक्नेछन्।


एनसेलले दैनिक प्याकअन्तर्गत ११ रुपैयाँमा ११ मिनेट कल २४ घण्टासम्म उपभोग गर्न पाइने गरी योजना ल्याएको छ। अर्को कम्पनी स्मार्ट सेलले पनि विभिन्न ग्राहक योजना ल्याएको छ। उक्त योजनाअन्तर्गत कम्पनीले ६० पैसा प्रतिमिनेटमा स्मार्टसेल नेटवर्कभित्र र अन्य नेटवर्कमा प्रतिमिनेट एक रुपैयाँ ८० पैसाका दरले सेवा उपलब्ध गराएको छ। 


आफ्नो नेटकर्कभित्र एक रुपैयाँ र अन्य नेटवर्कमा दुई रुपैयाँ प्रतिमिनेट तोकेको कम्पनीले ग्राहकलाई ६० पैसा र एक रुपैयाँ ८० पैसा प्रतिमिनेटका दरले सेवा दिइरहेको छ।


‘कम्पनीबीच भइरहेको प्रतिस्पर्धा अझ बढ्दै जाने हो भने ग्राहकले अझ सस्तो दरमा फोन कल गर्न पाउनेछन्', प्राधिकरणका वरिष्ठ निर्देशक खनालले भने, ‘नेपालमा टेलिफोन सेवा प्रदायक कम्पनीको रूपमा ६ वटा कम्पनी दर्ता भएका छन्। त्यसमा पनि युनाइटेड टेलिकम लिमिटेड(यूटीएल), नेपाल स्याट्लाइट टेलिकम प्रालि र सीजी कम्युनिकेसन प्रालि गुमनाम जस्तै छन्।' स्मार्टसेल आफ्नो बजार विस्तारको क्रममा छ। 


अहिलेको प्रतिस्पर्धा भनेको एनसेल र एनटीसीबीच मात्रै हो। ‘त्यो पनि के प्रतिस्पर्धा भन्नु', उनले भने, ‘अहिलेको अवस्थामा नेपालमा टेलिकमबीच पूर्ण प्रतिस्पर्धा नै भएको छैन।


टेलिकमको आफ्नो छुट्टै एकाधिकार छ, एनसेल प्राइभेट कम्पनीको आफ्नै किसिमको एकाधिकार छ। एक किसिमले हेर्दा यी दुईबीचमा प्रतिस्पर्धी नै छैन भन्दा हुन्छ, एउटा सरकारी नियमले बाधिएको छ भने अर्को खुला निती नियममा हिडेको छ।' ‘त्यसैले यो ठाउँमा अर्को कम्पनी आउने हो भने फोनकलको दर अझ सस्तो हुने थियो', उनले थपे। अर्को उपाए भनेको पल्स रेट घटाउनु हो।


अहिले प्रति १० सेकेन्डलाई एक पल्सको रूपमा लिइँदै आएकोमा घटाएर प्रतिसेकेन्ड एक पल्समा झार्ने हो भने पनि भ्वाइस कलको मूल्य घट्नेछ। त्यसका लागि प्राधिकरणले पहल गरिरहेको उनले बताए। अन्नपुर्ण पोष्ट दैनिकबाट